सहयात्रा




-------------------------------------------------------------------------------
कविता                                                                                                                  - नरेन्द्र कुमार  नगरकोटी

छोरीलाई बाको सम्बोधन


छोरी,
किनिदिउँला नि तेरो सपना 
बेस्मारी चिलाएको छ दाहिने हत्केला
हुनसक्ला थप कमाइ
र खन्न सकुँला सपनाको गोरेटो 

बिर्सिनसक्नु छ तेरो गुन

च्याँखे थापेरै जिन्दगी
दुःखको देउडामा दिनरात बजाइस्
छन्छन् छन्छन् चुराको सङ्गीत

तैँले पकाएको कोदोको जून
‘भाँगो’को अचारसँग निलेको स्वाद
यो चार अमलको जिब्रोमा सायदै मेटिएला 

स्याउको तीनपाने निकाल्न पोख्त तेरा हातहरू
कत्ति जाँगरिला,
तेरै श्रमको शृङ्गारले त धानेको छ
हाम्रो जिन्दगीको सौन्दर्य

घर फर्किएका चराका बथान हेर्छु
र कल्पन्छु–
कुन कुनासम्म पुगेर आएका होलान् यी चराहरू
यार्सा खोज्न गएको तेरो दाजै भने आउला नआउला

लाग्छ– तैँ त छेस् एकमात्र भरोसा

तैँले भीरमा झुण्डिएर घाँस काट्दाकाट्दै
औँला नै ठुन्क्याउँदा पनि चित्त दुखाइनस्
र घाम बिउँझिनु अघि नै दुहेर गाईको दूध
आँगनमा पोतिस् रातो माटोले घाम 

झिसमिसेमै जाँतोसँगै फनफनी घुमेको
तेरो मनमा के–के आउँदा हुन्

तैंले स्कूलको आँगन टेक्न त पाइनस्
तर पनि सुन् छोरी !
मार्सी धान उमार्न त पढ्नु पर्दैन नि !

खच्चरले ढाडमा बोकेरै ल्याउँछ
एक पेट भोकको ओखती
पेटकै लागि त हो यो सारा दुःखको शृृङ्खला
बाँच्नकै लागि त हो 
सासै रोकिने गरी उकालीओराली गर्नुपरेको 

खुर्पानी, नास्पाती र स्याऊ टोकेरै रमाएकी
देउडा नाचेरै हुर्केकी
कस्तुरीको मूल्यमा बाँचेकी
डाँफेको सौन्दर्यले सजिएकी
मेरी छोरी,
बडीमालिका माईको कस्सम खाएर भन्छु–

“तँलाई म अपार माया गर्छु ।”

काभ्रे
====================================================

गजल:
दीप दर्शन
यो उजाड बगर हो बुवा खनेर के काम
धान फल्दैन यो बालुवा खनेर के काम

ब्यर्थै दु:ख नगर तिम्रो कोदालो खिईन्छ
पानी जम्दै नजम्ने कुवा खनेर के काम

बड्दै नबड्ने बोट गोड्छु नभन यसरी
यो पात सुकेको बिरुवा खनेर के काम

खरायोले अबस्य जित्छ थाहा छ उस्लाई
यो बाटो हिड्दैन कछुवा खनेर के काम


जाजरकोट

================================

- मानिस
गजल:

रहेन यो आखा पनि ओभानो भएन ।
जब विश्वास गरेको मान्छे आफ्नो भएन ।

मनसंगै भत्केको घर पुरानो भैसक्यो
घर संगै भत्केको घर पुरानो भएन ।

बराबर छ यो छातीमा समय र तिम्रो प्रहार
कसरी भन्नु तिमीलाई आज अचानो भएन ।

खुसि हुदैछौ अर्काको घरको आगो देखेर
किन! तिमीलाई आफ्नो घर न्यानो भएन ।

पढ्नु पर्छ तिमीले पनि पढ एकचोटी
अरे यार देश पढेर कोहि सानो भएन ।


बर्दिया 
================================

गजल:
- बाबु त्रिपाठी
चुहिने छानोले जति कसले बुझेको हुन्छ ?
पीडा अचानाले जति कसले बुझेको हुन्छ ?

टन्न खान पाइन्छ आमालाई पिरेपछि
यो कुरा सानोले जति कसले बुझेको हुन्छ ?

कसले, कसलाई, कसरी ठगिरहेको छ
पाथी र मानोले जति कसले बुझेको हुन्छ ?

देश भएर पनि देश नहुनुको पीडा
हामी बिरानोले जति कसले बुझेको हुन्छ ?

================================


-क्षितिज समर्पण
गजल:

रहस्य अरुले थाहा पाउने डरले ।
उ भागिरहेथ्यो कोही आउने डरले ।

उसले सिरानी मुनि राखेको रहेछ,
तिम्रा यी यादहरु हराउने डरले ।

हामी होईन भागेको समय रहेछ
उसलाई हामीले भेटाउने डरले ।

एउटी विधवा यसर्थ चुप लागिन्
बाँकी खुशीहरु पनि गुमाउने डरले ।

जलाईदिए जम्मै तिम्रा तस्बिरहरु,
एकांतमा मलाई सताउने डरले ।

जाजरकोट
================================

मलाई निन्द्रा चाहिएको छ ।


- सैलेश श्रेष्ठ

मलाई निन्द्रा चाहिएको छ,
किनकी,
म सपना देख्न चाहन्छु,
तर,
मेरो सपनाहरु हराएका छन्,
किनकी,
मलाई निन्द्रा परेको छैन,
म सुत्न सकेको छैन,
कारण,
दिनहुँ बेमौसमी आउने
बाढीपहिरो, चट्याङ र आँधीहरु,
जसलाई
वर्षा, विजुली र चाप चाहिँदैन ।

माथा खल्बलिएको छ,
किनकी
आँखाभरी ज्वाला दन्किएका छन्,
कानभरी चित्कार भरिएको छन्.,
नाकभित्र धुवाँ निसासिएको छ ।
विश्वासले धड्कने मुटु त्रासदीले
कानमा बजिरहेछ ।
तरपनि
यी सब भूल्न चाहन्छू,
हराएका सपनाहरु समेट्न चाहन्छु,
साकार तुल्याई बाँच्न चाहन्छु,
तसर्थ प्यारो निन्द्रा चाहन्छु ।


बेनीबजार म्याग्दी

================================

मुक्तक:

- समिपा शाह
१.
हातमा हतियार दिएर भुल गरेछु
यसरी स्याहार दिएर भुल गरेछु

 अचेल यस्तो लागि रहेछ मलाई,
तिमीलाई अथाह प्यार दिएर भुल गरेछु
  । 

२.
यो समाजको चलन सक्किएको छैन ।
जिउँदो रहिरहने छ मदन सक्किएको छैन ।  
मलाई बिहे गरेर घरबार गर्ने रहर छ तर,
आमा भन्नु हुन्छ तेरो बचपन सक्किएको छैन  ।

टिकापुर कैलाली
================================

मुक्तक 
-  अन्जान सौगात
 १.
आफ्नो मात्रै स्वार्थ हेर्छ घाति हुन्छ मान्छे ।
छल गरेर सबै भन्दा माथी हुन्छ मान्छे ।
कसैलाई काखा अनी कसैलाई पाखा गर्ने,
साँच्चै किन यति पक्षपाती हुन्छ मान्छे ??
२.
तिम्ले जित्दा मेरो चाहीँ हार होला सायद ।
मेरो अन्त्य तिम्रो नयाँ संसार होला सायद ।
पाउमा राख्न नमिल्ने म शिरमा बस्न खोजेँ,
पक्कै तिमी जाने त्यो घर दरबार होला सायद ॥

बगनाहा-९, मधुवन बस्ती, बर्दिया
hajurkosaugat@gmail.com

================================

गजल:

- श्रीजन श्री
सुखभन्ने आफन्त त्यो धोका दिइ गयो।
दु:खभन्ने साथी बरु म सँगै नै रह्यो।

के माग्दैछौ?के छ र खै,के छ र म सँग??
हाँसो बरु तिमीलाई आँसु मेरो भयो।

यादको नै याद आउँछ, याद घरी-घरी ,
तिमी गयौ तर कहिल्यै याद गएन यो।

सुनाउ भन्छौ मेरा कथा सुनाउ भन्छौ व्यथा,
सुनाउछुँ नरुनु है? एउटा गजल छ यो।

================================


गजल:
- कमल संघर्ष

ठुलोले सानोलाइ कहील्यै चीनेन
महलले छानोलाइ कहील्यै चीनेन

कत्ती मारहरु खाएर उ बाचेको छ
खुकुरीले अचानोलाइ कहील्यै चीनेन

सत्रु हुन सक्छ या त मीत्र हुन सक्छ
आफ्नोले बिरानोलाइ कहील्यै चीनेन

तीर्खाएको छ की प्यास लागेको छ
कचीलोले ओभानोलाइ कहील्यै चीनेन

रीत्ता भकारीहरु भरीएपछी घरका
मुरीले मानोलाइ कहील्यै चीनेन

मंगलसैन अछाम
================================ 
गजल:

सिद्धिन्छ जिवन सिद्धिन्छ समय आएपछि
- दुर्गा जोशी
मृत्यु आउछ  र चिन्छ समय आएपछि  
.
तिमी फूर्ति नलगाउ भन्देकी छु मैले
कुवेरको भण्डार पनि रित्तिन्छ समय आएपछि


विचारमा निखारता ल्याउन जरुरी छ
वालक पनि त हिन्छ समय आएपछि


सधै दुखाई रहने खुकुरी संग
अचानो वदला लिन्छ समय आएपछि


भन्छन मुटु साटेर आउनेहरु
कसरी कसरी साटीन्छ समय आएपछि

 
कैलाली , टिकापुर 
================================

मुक्तक 
- रक्षा श्रेष्ठ
१ .
बेचैनी नै प्रिती हो ऊ बुझ्दै बुझ्दैन
मायाको एउटा निती हो ऊ बुझ्दै बुझ्दैन
'अझै जवाफ आएन' आज पनि सुनाएर गयो
मौनता नै स्वीकृती हो ऊ बुझ्दै बुझ्दैन !!


२ . 
आफ्नो मनमा बस्न निम्तो दिन कहिले आउँछौ
गाह्रो हुन्छ काट्न एकैछिन कहिले आउँछौ
पर्खिएर बस्नु कति सिन्दुर, पोते, चुरा बोकी
नढाटेर भन तिमी लिन कहिले आउँछौ ??
 

सत्ती, कैलाली 
================================
गजल:

-सुरेन्द्र यात्री
महान बन या क्रुर, बुझिराख ।
या पत्थर जस्तै निष्ठुर,बुझिराख ।

गर प्रयत्न जति छोड्न त्यो समयलाई
जित्नेछ समय जरुर बुझिराख ।

त्यो शिरको शोभा मात्र शिरमै रहनुपर्छ
सुहाउन्न पाउमा गजुर बुझिराख

पठाउनु मेरो जवाफ गजलमा यसरीनै
हुँदैछौँ हामी दुर-दुर बुझिराख  ।

त्यो मनमा चोट दिने थिएन रहर मेरो
पारीयो मलाई मजबुर बुझिराख।।

लम्की, कैलाली
================================
गजल:

- दिपक आचार्य जलन
बोतल को पानी धनीहरुलाई !
छानी छानी धनीहरुलाई !

गरीबले पसिना बगाइरहन्छ
हुन्छ आम्दानी धनीहरुलाई !

कोही आकाश ओडेर सुत्छन
मखमल् को सिरानी धनीहरुलाई !

जिबन को भारी गरीब माथि
आहा जिन्दगानी धनीहरुलाई !

बर्दिया , हाल : कुवैत
================================
- कृष्णकिसु

कविता
घाम अस्ताएको दिनदेखि
कुनै समय
हरेक बिहानको झिसमिसेमै
दिन
कलिलो घाम बोकी
पृथ्वी झर्दथ्यो,
दिनसंगै एक जीवन उदाउँथ्यो— घाम
दिनसंगै एक जीवन अस्ताउँथ्यो— घाम
साँझ नपर्दै दिन
चद्रमा खसाल्थ्यो धर्तीको निधार हँुदै
 यता कतै बरालिन्थ्यो ऊ
चन्द्रमाको शीतलतासंगै
दिन जस्तो हुन्थ्यो रात
दिन जस्तो हुन्थ्यो दिन ।

तर आजकल
हरेक दिन
रात बोकेर
पृथ्वी ओर्लन्छ, सखारै
पूरै दिनभरि
अपहरण गर्छ घामको
रातसँग मिलेर
साँझ नपर्दै
हत्या गर्छ घामको
रातसँग मिलेर
बाटैमा लुटिन्छ, चन्द्रमाको सुन्दरता
आजकल पृथ्वीमा
चिहाउँदैन चन्द्रमा
हिमालको डिलबाट
न त दिन रात छुट्टिन्छ, यहाँ
यहाँ केवल
अँध्यारो छ निष्पट्ट
त्यही अन्धकारमा 
हामी लुटिइरहेछौ बेठेगान
कोही लुटिइरहेछ बेर्पवाह
निरन्तर
साँच्चिकैको घाम, अस्ताएको दिनदेखि
उज्यालो लुटिएको दिनदेखि । 

 फिकुरी, नुवाकोट
================================
गजल:

बरु भन्नुहोस गुलावको कहानी !
- दिर्घराज प्रियसी
अब बन्द गर्नुस् किताबको कहानी !

तपाई भन्दा पृथक मेरो हुन सक्छ
जवानी यो अभाबै अभावको कहानी !

पढ्दा अच्चम सुन्दा पनि अच्चम
वडो यो हड्डिमा कवावको कहानी !


जुन जुन बेला म भट्टि भित्र छिर्छु
अनि सुरु हुन्छ सरावको कहानी !

कैलाली
================================
गजल:

- निश्चल परदेशी
यी मान्छेहरूको अनुहारमा हरदम लेखिन्छ।
खतराको सङ्केत टाँसेर स्वागतम लेखिन्छ

लेख्न मिल्ने तिम्रो केहि छैन अहम बाहेक
केबल यो इतिहासमा तिम्रो अहम लेखिन्छ।

पिउनुको मज्जा केबल भट्टिमा भेट्नेहरूलाइ
मदिराको अगाडि कडा अनि नरम लेखिन्छ।

कुनैदिन बडा आकर्षक विज्ञापनहरू बनाएर
यी सारा हतियारलाइ पनि कलम लेखिन्छ।

गजल लेख्न छोडेको छैन र छाड्दिन पनि
पहिले ज्यादा लेखियो अचेल कम लेखिन्छ।

काभ्रे , हाल - मलेसिया 
================================
गजल:
 - जीवन सरोवर


मेरो दिलमै आउने योजना रहेछ।
अनि आगो लगाउने योजना रहेछ।।

दुखेको मनलाई दुखेको मुटुलाई।
झन झन दुखाउने योजना रहेछ।।

तलाई हिन्दु मलाई मुस्लीम भनेर।
भाई भाई लडाउने योजना रहेछ।।

मरेर र मारेर पुगेकै रहेनछ।
अझै लड्न पठाउने योजना रहेछ।।

लुट्नु सम्म लुट्यो समयले "जीवन"।
अब भाग्य भत्काउने योजना रहेछ।।

रानिबन अछाम
हालःनेपालगञ्ज
================================

यहाँ प्रकाशित गज़ल, मुक्तक र कविता सर्जकहरुको अनुमति लिएर प्रकाशन गरिएको हो ! प्रकाशित रचनाका सर्जकहरुप्रति आभार छ !
--------------------------------------------------------------------------