Nov 20, 2014

गजल



या त यी मान्छेहरुको अजीब रहर हुनुपर्थ्यो ।
या त अमृत नामको शिशीमा जहर हुनुपर्थ्यो ।

किन उचनिच छन् मान्छेका सोँचाइहरु ?
हैन भने जमिन पनि समथर हुनुपर्थ्यो ।

फूलसँगै किसानको मुस्कान बेचिन्छ यहाँ,
नत्र त फूलहिन जिन्दगीको कदर हुनुपर्थ्यो ।

यदि यी कानूनहरु बनेका हुन् भने सबैलाई,
होचालाई घोचिरहने नजीरहरु बदर हुनुपर्थ्यो ।

किन लेखिन्छ सधैँ लासमाथि टेकेर इतिहास ?
बोली त यी लासहरुको पनि सदर हुनुपर्थ्यो ॥

Apr 3, 2014

केही हाईकुहरु !


१.
सिंगो मुलुक
नारीबिनाको गृह !
लथालिङ्ग म ।

२.
नातिकी बजै
आधुनिक तरंग !
व्युटी पार्लर ।

३.
पानीको थोपा
मकैको पातलाई !
हल्ला फिँजायो ।


४.
आईसक्रीम
छोटो आयुरेखामा !
गल्यो जिन्दगी ।

५.
तर्साउ मान्छे धोकामा 'सावधान !' कुकुर छैन ।

क्रमश:

Mar 30, 2014

तस्बिर आफै बोल्छ:

के गरुँ कसो गरुँ भो मलाई । यो आपत देखेर मै रोउँ रोउँझैं भए एकछिन त !

Mar 23, 2014

गजल

सिरानीमा प्रियतमाको तस्बिर राखेर ।
उ निदाएको छ आंखाभरि पिर राखेर ।

मैले राम्रोसंग चिनेको छु मित्र तिमीलाई,
कसरी छेकेथ्यौ पाईलैपिच्छे भिर राखेर !

फुलेर पनि कहिल्यै मुस्काएनन ती फूलहरु,
जब फर्किएनौ ती नजर आखिर राखेर ।

कैले तुफान राखेर, कैले मैदान पारेर,
आज परिक्षा लिंदैछ समय स्थिर राखेर ।

यो बाटो कहिल्यै नजानु साथी त्यो बजारमा,
बिक्रिमा बसेका हुन्छन आफ़्नै शरिर राखेर ।