Jul 23, 2011

बाल कथा__किताब रोयो


सधैँझै १० बजे स्कुलको घण्टी लाग्यो।

विद्यार्थीहरु आ–आनो कक्षाको लाईनमा आएर प्रार्थनामा बसे।
सबै आइसक्दा पनि सञ्जय भने त्यहाँ उपस्थित भएको थिएन। कक्षा ६ का उसका साथीहरुले सधैँ जस्तै आज पनि ‘सञ्जय कता गएछ?’ भन्दै खासखुस गरे । सरहरुले पनि सोध्नुभो उसको बारे । राष्ट्रिय गान सहित सरस्वतीको प्रार्थना गरेर सबै कक्षाकोठा तिर जादैँ थिए तरपनि ऊ आइपुगेको थिएन। फर्कदैँ गर्दा अन्वेशले गेटनेर सञ्जय र समीपलाई लुकेर चियाइरहेको देख्यो । मनमनै सोच्यो– ‘आज पनि यी दुईजना बाटोमा खेल्दै आएछन्।’
सबै साथीहरु कक्षामा र सरहरु अफिसमा गइसकेपछि ती दुबैजना बुर्कुसी मार्दै कक्षाभित्र छिरे। कक्षामा उनीहरु पुग्नासाथ सबै एकछिन गललल हाँसे । साथीहरुको पर्वाह नगरी उनीहरु आनो सिटमा बसे। आज सरहरु साह्रै रिसाउनुभएको कुरा अन्जलीले भनेपछि मात्र थाहा पाए तिनीहरुले। तर आज पनि उनीहरु पहिलो घण्टी पढेपछि भागेर स्कुल बाहिर पुगे, खेल्न। दोश्रो घण्टी अंग्रेजी विषय हो ।

*****

उता सन्जयको बुवालाई छोराको यस्तो चालाले साह्रै चिन्तित बनाएको थियो। के गर्ने कसो गर्ने भनेर सोच्दासोच्दै भुसुक्कै निदाउनु भएछ।
बुवाले सन्जयलाई सोध्दै हुनुहुन्थ्यो –‘तिमीले आज सबै घण्टी पढ्यौ त?’
‘आज त सबै पढेर आएँ बुवा ।’
बुवाले एउटा चम्किलो, अनौठो वस्तु देखाउदै फरि सोध्नुभो– ‘हेर बाबु, तिमी झुठ नबोली यसलाई हेरेर भन । यदि तिमी झुठ बोल्यौ भने न त यो तिमीले पाउँछौ, न त अहिलेसम्म सिकेका कुरा नै तिमीसँग रहनेछ, सबै हराउने छ। भन त तिमीले आज सबै विषय पढ्यौ कि पढेनौ?’

चिल्लो गाता, रंगिचंगी चित्रैचित्र भएको त्यो किताब देखेपछि सञ्जय दंग र दुखी एकैपल्ट भयो। के गरौँ के गरौँ भयो उसलाई। ‘साँचो बोलौँ भने बुवाको गाली खानुपर्ने, झुठ बोलौँ भने यति राम्रो किताब गुम्ने।’

बुवाको गाली र पिटाई खानुपर्ने सम्झेर उसले नानीदेखि लागेको बानी नै देखायो र भन्यो– ‘हो, बुवा आज मैले सबै विषय पढेर आ’को हो ।’

सञ्जयले यसो भनेको सुन्ने बित्तिकै त्यो किताब धरधरी आँशु निकाल्दै रुन थाल्यो। र आँशु पुच्दै बोल्यो –‘किन झुट बोल्दैछौ ? किन ?’

बुवा र सञ्जय अचम्म परे किताब रुदै बोलेको देखेर। तर के बोलेको दुबैले बुझेनन्। मात्र जिल्ल परेर एकनाश हेरिरहे।

अंग्रेजी किताब फेरी बोल्यो –‘किन झुठ बोलेको तिमी भन त सञ्जय? के तिमीलाई मेरो माया लाग्दैन ? म त तिम्रो बुद्घि हो, ज्ञान हो, साथी हो। अनि मसँग पनि झुठ बोलेको?’

‘हैन, हैन‘’ सञ्जयको मन पग्लिसकेको थियो –‘मलाई तिम्रो माया नलागेको कहाँ हो र? साँचो कुरा भन्यो भने बुवाले गाली गर्नु हुन्छ, पिट्नु हुन्छ त?। हेर न, मलाई अंग्रेजी भनेपछि टाउको दुखेर आउछ। सरले पनि सधैँ होमवर्क गरेर ल्याओ भन्नुहुन्छ तर मलाई आउँदैन। बुवालाई सोध्छु मलाई के थाहा भन्नुहुन्छ, साथीहरुले उल्टो उल्टो भनिदिन्छन् र गलल हाँस्छन्, सरलाई सिकाइदिन भन्छु झन उल्टै होमवर्क नगरेको भन्दै अगाडी मुर्गा बनाउनु हुन्छ। अनि तिमी नै भनन म के गरुँ? के मैले जानिन भनेर सोध्न पनि नपाउनु ?’
सञ्जयको आँखा पनि रसाइसकेका थिए।

उसले यसो भन्दै गर्दा किताबको आँशु झन बग्न थाल्यो। बुवाले पनि कुरा बुझिसक्नु भएको थियो। उहाँको पनि आँशु प्रष्टै देखिन्थ्यो आँखामा तर लुकाउन खोज्दै हुनुहुन्थ्यो।

‘बाबु मलाई माफ गर ल। म तिम्रो सरलाई भेटेर यो सबै भनेर सिकाउन भन्छु‘‘’
बुवा एक्लै एक्लै बोल्दै हुनुहुन्थ्यो। यो देखेर सञ्जय दंग पर्दै हाँस्दै बुवालाई बोलायो –‘बुवा‘बुवा‘के भो?’
‘मलाई माफ गर है सञ्जय‘म तिम्रो सर म्याडमलाई आजै गएर भेट्छु‘साँच्चै भेट्छु‘’

‘किन‘के भो बुवा?’ बुवाले माफी मागेको देखेर उसलाई नरमाइलो लाग्यो र अलि बेसरी झक्झकायो। बुवा झसंड्ड बिउझिनु भो निद्राबाट।